काठमाडौं । दशैँ सकिए पनि बिदा बाँकी रहेकाले घुम्न जाने योजना बनाउँदै हुनुहुन्छ ? यदि उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा गर्ने सोचमा हुनुहुन्छ भने केही दिन आफ्नो योजना स्थगित गर्नु उपयुक्त हुन सक्छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले चक्रवातको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा मौसम प्रतिकूल हुन सक्ने चेतावनी दिँदै आएको छ। यसैबीच, अध्यागमन विभागले पनि जोखिमयुक्त क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरेको छ।
विभागका अनुसार कात्तिक १२ देखि १४ गतेसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहने पूर्वानुमान गरिएको छ।
यसलाई ध्यानमा राख्दै विभागले उक्त अवधिमा जोखिमयुक्त क्षेत्रमा पदयात्रा नगर्न तथा नगराउन पदयात्री, विदेशी पर्यटक र सम्बन्धित पक्षलाई अनुरोध गरेको छ।
विभागले जोखिमयुक्त क्षेत्रमा पदयात्राका लागि अनुमति प्रदान गर्ने कार्यसमेत स्थगित गरेको जनाएको छ। साथै, उक्त क्षेत्रमा यसअघि नै पदयात्रामा गइसकेका व्यक्तिलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
मौसम प्रतिकूल हुन सक्ने भएकाले सम्बन्धित निकायले जारी गरेका सूचना र सुरक्षा निर्देशन पालना गर्न तथा अनावश्यक जोखिम नलिन यात्रुहरूलाई सुझाव दिइएको छ।
प्रकाशित मिति: १० कार्तिक २०८३, मंगलवार









