भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले नियन्त्रणमा लिएको छ। उनका नातेदार पर्ने भुवन ढुङ्गेल सवार विद्युतीय कारबाट ३३ लाख रुपैयाँ नगद बरामद भएपछि घिमिरेलाई नियन्त्रणमा लिइएको हो।
सोमबार अपराह्न मध्यपुर थिमि नगरपालिकाबाट निस्किएको बागमती प्रदेश ०१–०३५ च २६८७ नम्बरको टाटा ईभी कार निकोसेरास्थित अजिमा पेट्रोल पम्प नजिकै अख्तियारको टोलीले रोकेको थियो।
कारको चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा शंकास्पद नगद फेला परेपछि अख्तियारले चालकसहित कारमा सवार भुवन ढुङ्गेल र उनकी श्रीमतीलाई नियन्त्रणमा लिएको थियो। त्यसलगत्तै नगरपालिकाको कार्यालयबाट प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई पनि नियन्त्रणमा लिएर अनुसन्धानका लागि घटनास्थलमा ल्याइएको बताइएको छ।
अख्तियारका अनुसार कारबाट ३३ लाख रुपैयाँ नगद बरामद भएको छ। उक्त रकम प्रमुख प्रशासकीय अधिकृत घिमिरेले घुसबापत लिई व्यवस्थापनका लागि ढुङ्गेललाई दिएको अख्तियारको दाबी छ।
यद्यपि, प्रमुख प्रशासकीय अधिकृत घिमिरेले भने आफूले घुस लिएको आरोप अस्वीकार गरेका छन्।
सम्बन्धित समाचार
मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे ३३ लाख रुपैयाँ घुस सहित पक्राउ
प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार









