भक्तपुर। सूर्यविनायक नगरपालिकाले विकास निर्माणसम्बन्धी १३ वटा ठेक्काको बोलपत्र खोल्ने प्रक्रिया छैटौँ दिन पनि निरन्तर जारी राखेको छ। नगरपालिकाको कार्यालयस्थित सभाहलमा भइरहेको बोलपत्र खोल्ने तथा मूल्याङ्कन प्रक्रियालाई पारदर्शी बनाउन भिडियो रेकर्डिङसहित नमस्ते ख्वप टेलिभिजन र नगरपालिकाको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणसमेत भइरहेको छ।
सार्वजनिक खरिद प्रक्रियालाई थप पारदर्शी, प्रतिस्पर्धात्मक र जवाफदेही बनाउने उद्देश्यले नगरपालिकाले बोलपत्र खोल्ने तथा मूल्याङ्कन गर्ने सम्पूर्ण प्रक्रियालाई भिडियोमा अभिलेखीकरण गर्दै अनलाइनमार्फत प्रत्यक्ष प्रसारणसमेत गरिरहेको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले बोलपत्र खोल्ने प्रक्रियालाई प्रत्यक्ष प्रसारण गर्दा खरिद प्रक्रियामा पारदर्शिता कायम हुनुका साथै सर्वसाधारणमा विश्वास बढ्ने बताउनुभयो।
नगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार १३ वटा ठेक्काका लागि कुल ९ सय ४७ वटा बोलपत्र फाराम बिक्री भएका छन्। प्रतिफाराम ३ हजार रुपैयाँका दरले बिक्री गर्दा नगरपालिकाले २८ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
यी १३ वटा आयोजनाको कुल लागत अनुमान भ्याटसहित १६ करोड २८ लाख ४८ हजार २ सय रुपैयाँभन्दा बढी रहेको नगरपालिकाले जनाएको छ। विवरणअनुसार सबैभन्दा बढी एउटा ठेक्काका लागि १ सय ६५ वटा र सबैभन्दा कम एउटा ठेक्काका लागि ५ वटा बोलपत्र फाराम बिक्री भएका छन्।
नगरपालिकाका अनुसार सार्वजनिक खरिद ऐन तथा नियमावलीबमोजिम खरिद प्रक्रिया अघि बढाउँदै आए पनि सरकारी विद्युतीय खरिद प्रणाली (ई–जीपी) पोर्टलमा देखिएको प्राविधिक समस्याका कारण ठेक्का आह्वान प्रक्रियामा कठिनाइ भएको थियो। पोर्टलको समस्या समाधान हुन करिब दुई महिना लाग्ने अवस्था देखिएपछि सरकारी परिपत्रअनुसार हार्डकपीमार्फत बोलपत्र आह्वान गरिएको हो।
हार्डकपीमार्फत बोलपत्र आह्वान गर्दा गोपनीयता, सुरक्षा तथा मूल्याङ्कन प्रक्रियाको पारदर्शिता सुनिश्चित गर्न नगरपालिकाले बोलपत्र खोल्ने र मूल्याङ्कन गर्ने सम्पूर्ण प्रक्रियालाई भिडियो रेकर्डिङसहित प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाएको जनाएको छ।
नगरपालिकाका पूर्वाधार शाखा प्रमुख तथा वरिष्ठ इन्जिनियर जनक न्यौपानेको नेतृत्वमा नगरपालिकाको टोलीले बोलपत्र खोल्ने कार्य गरिरहेको छ।
नगरप्रमुख बासुदेव थापाले सार्वजनिक खरिद प्रक्रियामा स्वच्छता, पारदर्शिता र जवाफदेहिता कायम गर्ने उद्देश्यले नयाँ अभ्यास सुरु गरिएको बताउनुभएको छ। यसले नगरपालिकाले अघि सारेको भ्रष्टाचार शून्य सहनशीलताको नीतिलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्दै उहाँले कार्यक्रम सफल बनाउन नगरवासी, संघसंस्था तथा सम्बन्धित सबै पक्षलाई सहकार्य गर्न आग्रह गर्नुभएको छ।
त्यसैगरी, बोलपत्रमा सहभागी निर्माण व्यवसायीले थप शुल्क नतिरी आफूले वा अन्य प्रतिस्पर्धीले पेस गरेका बोलपत्रका सफ्टकपी जुनसुकै समयमा प्राप्त गर्न सक्ने व्यवस्था पनि नगरपालिकाले मिलाएको जनाएको छ।
नगरपालिकाको पूर्वाधार शाखाका अनुसार गत कात्तिक २० गतेदेखि बोलपत्र खोल्ने प्रक्रिया सुरु गरिएको हो। १३ वटै ठेक्काको बोलपत्र खोल्ने कार्य सम्पन्न गर्न करिब एक महिना लाग्ने जनाइएको छ।
नगरपालिकाले यस अभ्यासले सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता र प्रतिस्पर्धा अभिवृद्धि गर्नुका साथै स्थानीय तहप्रतिको नागरिक विश्वास थप मजबुत हुने अपेक्षा गरेको छ।
प्रकाशित मिति: २ मंसिर २०८३, बुधबार









