६ मंसिर २०८३ ,आईतवार

‘बात बहादुर’ नभई ‘काम बहादुर’ बन्न ओलीको आग्रह


भक्तपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई ‘बात बहादुर’ नभई ‘काम बहादुर’ बन्न आग्रह गरेका छन् ।

नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले सोमबार आयोजना गरेको बडादसैँ, शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले कुरा मात्र गर्ने नभई व्यवहारमा काम गरेर देखाउनुपर्ने बताएका हुन् ।

‘हामी कुरा गर्ने मात्र होइन, काम गर्ने बन्नुपर्छ,’ उनले भने, ‘विध्वंसकारी होइन, निर्माणकर्ता बन्नुपर्छ। आपसी घृणा, लोभ र छलकपट त्यागेर प्रेम, करुणा तथा सहकार्यको भावना विकास गर्नुपर्छ।’

सभ्य र बस्नलायक समाज निर्माणका लागि नागरिकमा नैतिक बल, नैतिक भावना र उन्नत सांस्कृतिक मनोवृत्ति आवश्यक रहेको ओलीले बताए। अत्यधिक लोभले मानिसलाई नैतिक पतनतर्फ लैजाने उल्लेख गर्दै उनले समाजमा घृणा, षड्यन्त्र र जालझेलको प्रवृत्ति बढ्न नहुनेमा जोड दिए।

खराब काम गर्ने मानिसलाई पशुसँग तुलना गर्नु पशुमाथिकै अन्याय हुने उनको टिप्पणी थियो। ‘पशुले मानिसले जस्तो अन्याय र जालझेल गर्दैन,’ उनले भने।

मानिसको सांस्कृतिक मनोवृत्तिमा आएको परिवर्तनले राजनीतिसमेत प्रभावित भएको ओलीको भनाइ थियो। संसद् भवन निर्माण गर्नुको सट्टा आगजनी गर्ने र सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुको सट्टा नष्ट गर्ने प्रवृत्ति बढेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

आफ्नो नेतृत्वको सरकारले गोदावरीमा अन्तर्राष्ट्रियस्तरको सभागृहसहित ठूला सभाहल र रङ्गशाला निर्माणलाई प्राथमिकता दिएको उल्लेख गर्दै ओलीले भक्तपुरमा पनि ठूला सार्वजनिक सभाहल आवश्यक रहेको बताए।

भूकम्पबाट क्षति पुगेका संरचना, दशरथ रङ्गशाला तथा पोखरा रङ्गशालाको पुनर्निर्माणलाई विकासका उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले निर्माण भएका संरचना भत्काउने तथा राष्ट्रिय सम्पत्तिमा आगजनी र लुटपाट गर्ने गतिविधि समाजमा सांस्कृतिक भावना कमजोर हुनुको परिणाम भएको बताए।

भाटभटेनीका २१ वटा स्टोरमा भएको लुटपाट तथा आगजनीको प्रसङ्ग उल्लेख गर्दै ओलीले सार्वजनिक र निजी सम्पत्तिमा आगजनी गर्ने व्यक्तिहरू नेपाली समाजका कलङ्क भएको टिप्पणी गरे।

‘नेपाली संस्कृतिमाथि हमला भइरहेको छ’

ओलीले नेपाली मौलिक संस्कृति र परम्परामाथि हमला भइरहेको भन्दै त्यसप्रति सचेत रहन सबैलाई आग्रह गरे। सामान्य देखिने सांस्कृतिक गतिविधिमा समेत गहिरो सामाजिक अर्थ लुकेको हुने उल्लेख गर्दै उनले समाज निर्माणमा चाडपर्व, परम्परा, गीतसङ्गीत र खानपानको महत्त्वपूर्ण भूमिका रहेको बताए।

‘मानिस सामाजिक प्राणी भएकाले नै समाजलाई व्यवस्थित बनाउन रीतिरिवाज र चाडपर्वको विकास भएको हो,’ उनले भने, ‘हाम्रा परम्पराले आपसी सद्भाव, एकता र सहकार्यलाई बलियो बनाउँदै समाजको पहिचान निर्माण गरेका छन्।’

मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नुका साथै तिनलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको ओलीले बताए।


प्रकाशित मिति: २३ कार्तिक २०८३, सोमबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?