६ मंसिर २०८३ ,आईतवार

नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवमा नेपाल–जापान सांस्कृतिक महोत्सव आयोजना


भक्तपुर । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा भक्तपुरको मध्यपुर थिमीमा नेपाल–जापान सांस्कृतिक महोत्सव आयोजना गरिएको छ। नेपाल र जापानबीचको दशकौँ पुरानो मैत्रीपूर्ण सम्बन्ध, सांस्कृतिक आदानप्रदान तथा आपसी सद्भावलाई थप प्रगाढ बनाउने उद्देश्यले मध्यपुर थिमी नगरपालिकाले महोत्सव आयोजना गरेको हो।

मध्यपुर थिमी नगरपालिका–स्थित चपाचो क्षेत्रमा आयोजित महोत्सवमा नेवारी कला, संस्कृति, मौलिक परम्परा, खानपान तथा हस्तकलालाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरिएको थियो। महोत्सवमा मध्यपुर थिमीका स्थानीय मौलिक पहिचान झल्काउने २१ वटा विभिन्न प्रकारका नेवारी हस्तकलाका सामग्री प्रदर्शनीमा राखिएका थिए। परम्परागत कला र सीपबाट तयार गरिएका ती सामग्रीले नेवारी समुदायको सिर्जनशीलता, सांस्कृतिक सम्पदा तथा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीपलाई उजागर गरेका थिए।

महोत्सवमा नेवारी परम्परागत खानाका परिकारहरू समयबजी, योमरी, बारा लगायतका मौलिक परिकारहरूको प्रदर्शनी तथा स्वाद लिन सकिने व्यवस्था गरिएको थियो। यसका साथै जापानी खानाका विभिन्न परिकारहरू पनि प्रस्तुत गरिएका थिए। नेपाली र जापानी खानपान संस्कृतिलाई एउटै स्थानमा प्रस्तुत गर्दा दुवै देशका मौलिक स्वाद, पाककला र सांस्कृतिक विशेषताबारे जानकारी आदानप्रदान गर्ने अवसर सिर्जना भएको थियो।

सांस्कृतिक प्रस्तुतितर्फ मध्यपुर थिमी नगरपालिकाले स्थानीय कला र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित महाकाली नाच, दाफा भजन, बाँसुरी बाजा, धिमे बाजा लगायतका परम्परागत नाच तथा सांगीतिक प्रस्तुति आयोजना गरेको थियो। नेवारी समुदायको धार्मिक, सामाजिक तथा सांस्कृतिक जीवनसँग गहिरो सम्बन्ध राख्ने यी प्रस्तुतिले मध्यपुर थिमीको समृद्ध सांस्कृतिक पहिचानलाई झल्काएका थिए।

त्यसैगरी, जापानका तर्फबाट पनि जापानी मौलिक संस्कृति झल्काउने विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरिएका थिए। नेपाली र जापानी कलाकार तथा सांस्कृतिक प्रस्तुतिमार्फत दुवै देशका कला, संगीत, परम्परा र जीवनशैलीलाई एकअर्कासँग परिचित गराउने प्रयास गरिएको थियो।

नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा आयोजित यस महोत्सवले दुई देशबीचको मित्रता र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै, मध्यपुर थिमीको मौलिक नेवारी कला, संस्कृति, परम्परागत खानपान तथा हस्तकलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र स्थानीय कलाकार, हस्तकर्मी तथा उद्यमीलाई प्रोत्साहन गर्न पनि महोत्सवले सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

यस्ता सांस्कृतिक कार्यक्रमले सांस्कृतिक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा दुई देशका नागरिकबीच आपसी समझदारी र सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउन सक्छन्।


प्रकाशित मिति: ५ मंसिर २०८३, शनिबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?