दैलेख । दैलेखमा एक व्यक्तिले आफ्नै परिवारका सदस्यहरूमाथि बन्चरो प्रहार गर्दा दुई बालबालिकाको मृत्यु भएको छ भने श्रीमती र एक छोरा गम्भीर घाइते भएका छन् ।
चामुण्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले शनिबार बिहान करिब ९ः३५ बजे घरायसी विवादका क्रममा श्रीमती र तीन सन्तानमाथि बन्चरो प्रहार गरेका हुन् ।
बन्चरो प्रहारबाट ३५ वर्षीया श्रीमती मनीषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र सलामी, ६ वर्षीय छोरा मिलन सलामी र ३ वर्षीया छोरी करिश्मा सलामी गम्भीर घाइते भएका थिए ।
घटनालगत्तै घाइते चारै जनालाई एम्बुलेन्समार्फत उपचारका लागि नगर अस्पताल दुल्लु लगिएको थियो । उपचारका क्रममा टाउकोमा गम्भीर चोट लागेका १२ वर्षीय तपेन्द्र र ३ वर्षीया करिश्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
चिकित्सकले शनिबार बिहान ११ः१० बजे दुवै बालबालिकालाई मृत घोषणा गरेका थिए ।
गम्भीर घाइते मनीषा र ६ वर्षीय छोरा मिलनलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न अम्बर सलामी मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
प्रकाशित मिति: ५ मंसिर २०८३, शनिबार









