भक्तपुर । नेपालीहरू घरघरमा तिहार भित्र्याउने चटारोमा छन् । झिलिमिली बत्ती जोड्ने, माटाका पाला किन्ने, लक्ष्मी पूजाका लागि सयपत्रीका माला र भाइटीकाका लागि मखमलीका माला जोहो गर्ने काममा सबै व्यस्त छन् । यही चटारोबीच भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित गुण्डु पनि फूलको सुगन्ध र रङले गुल्जार बनेको छ ।
यतिबेला गुण्डुका खेतबारीमा सयपत्री र मखमली ढकमक्क फुलेका छन् । तिहारका लागि सयपत्री फूल टिपेर बजार पु¥याउन र मखमलीका माला गाँस्न यहाँका कृषकलाई भ्याइनभ्याइ छ । घरघरका दिदीबहिनी फूल टिप्न र माला उन्न व्यस्त छन् । तिहारले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाइरहँदा गुण्डुका किसानका लागि भने यही समय आम्दानीको मुख्य अवसर पनि बनेको छ ।

राजनीतिक गतिविधिले बेलाबेला चर्चामा आइरहने गुण्डु तिहारको समयमा भने फूल खेतीका कारण विशेष रौनकमा देखिन्छ । यहाँका अधिकांश किसानका खेतबारीमा सयपत्री र मखमली फूल फुलेका छन् । रहरै रहरमा सुरु गरेको फूल खेतीबाट राम्रो आम्दानी हुन थालेपछि कतिपय किसानले यसलाई व्यावसायिक रूपमै अगाडि बढाएका छन् ।

पविता श्रेष्ठ त्यस्तै एक कृषक हुन् । २० लाख रुपैयाँ लगानीमा सुरु गरेको कपडा व्यवसायलाई समेत उनले तिहारको चटारोमा केही समय विश्राम दिएकी छन् । अहिले उनको अधिकांश समय फूल खेतीको स्याहार र फूल टिप्नमै बित्ने गरेको छ ।
सुरुमा रहरले फूल खेती थालेकी पविताले यसबाट राम्रो आम्दानी हुन थालेपछि व्यावसायिक रूपमा खेती विस्तार गरेको बताउँछिन् । साना किसान कृषि सहकारी संस्था गुण्डुले नगरपालिकासँग समन्वय गरी बिरुवा उपलब्ध गराएपछि उनले फूल खेती सुरु गरेकी थिइन् ।
“पहिला–पहिला रहरले सुरु गरेको थिएँ । यसबाट राम्रो आम्दानी हुँदो रहेछ भन्ने थाहा पाएपछि व्यावसायिक रूपमा खेती गर्न थालेकी हुँ,” टनेलभित्र सयपत्री फूलको स्याहारमा व्यस्त पविता भन्छिन् ।
सुरुमा वर्षमा एकपटक मात्रै फूल खेती गर्ने गरेकी उनी अहिले वर्षभरि नै फूल उत्पादन गर्छिन् । तिहारमा मात्रै सीमित नरही बाह्रै महिना फूल उत्पादन गर्न थालेपछि उनको खेती व्यवसायको रूप लिएको छ ।
गुण्डुकी मन्दिरा आमाको दैनिकी पनि यतिबेला फूल र मालामै बितिरहेको छ । झन्डै २०–२५ वर्षदेखि फूल खेती गर्दै आएकी उनी तिहार खर्च जुटाउने उद्देश्यले खेती सुरु गरेको बताउँछिन् । अहिले १०–११ आनामा फैलिएको उनको फूल खेती परिवारको आम्दानीको एउटा भरपर्दो आधार बनेको छ ।

उत्पादित फूल र माला बिक्री गर्न उनी कालीमाटी र असनसम्म पुग्छिन् । फूल बेचेर हुने आम्दानीले आफ्ना व्यक्तिगत आवश्यकता पूरा गर्न श्रीमान्सँग पैसा माग्नुपर्ने अवस्था नरहेको उनको अनुभव छ । तर, किसानले उत्पादन गरेको फूलको उचित मूल्य पाउन नसकेको र बिचौलियाका कारण अपेक्षित आम्दानी लिन नसकेको उनको गुनासो छ ।
फूल खेती र फूलको व्यवसायलाई अझै विस्तारका लागि साना किसान तथा कृषि सहकारी संस्था लिमिटेडले अझै सहयोग पुर्याएको छ । संस्थाका ५० प्रतिशन सदस्य फूल खेतीमा संलग्न रहेको बताउनुहुन्छ संस्थाका प्रबन्ध निर्देशक अजय रिसाल । विगत ६ वर्षदेखि संस्थाले नगरपालिका र ७ नं वडा कार्यालयको समन्वयमा फूलका हजारौँ बेर्ना कृषकहरुलाई उपलब्ध गराउँदै आएको रिसाल बताउनुहुन्छ ।
गुण्डुका लागि तिहार केवल चाडपर्वको उत्सव मात्रै होइन, फूल खेती गर्ने किसानका लागि वर्षभरिको मेहनतलाई आम्दानीमा बदल्ने अवसर पनि हो । सयपत्री र मखमलीले गाउँलाई सुन्दर बनाएका छन् भने यही फूलले धेरै परिवारको आर्थिक जीवनमा पनि रङ भरेको छ ।
तर, फूल उत्पादनमा किसानको मेहनत र लगानी बढ्दै गए पनि बजार व्यवस्थापन, उचित मूल्य र बिचौलियाको समस्या अझै चुनौतीका रूपमा छन् । स्थानीयस्तरमै फूलको बजारीकरण, उचित मूल्य निर्धारण र किसानलाई आवश्यक प्राविधिक तथा संस्थागत सहयोग उपलब्ध गराउन सके गुण्डुको फूल खेती अझ व्यवस्थित र दिगो व्यवसाय बन्न सक्छ । तिहारमा घरघरमा पुग्ने फूलको सुगन्धसँगै किसानको पसिना र आत्मनिर्भरताको कथा पनि जोडिएको छ ।



प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार









