भक्तपुर, २४ असोज । विनायक शिक्षा निकेतनले शैक्षिक तथा सांस्कृतिक आदान प्रदान कार्यक्रमका लागि जापान जान लागेको विद्यार्थी र शिक्षकको टोलीलाई एक विशेष कार्यक्रमका बीच बिदाइ गरेको छ। १५ दिने जापान भ्रमणका लागि विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापति र चार जना विद्यार्थीहरू जापान जान लागेका हुन्। भ्रमण टोलीमा सहभागी विद्यार्थीहरूमा तुलज प्रजापति, प्रयान चक्रधर, सलिना घिमिरे र सदिक्षा श्रेष्ठ रहेका छन्।
जापान बसाईका क्रममा विद्यार्थीहरुले त्यहाँका विभिन्न विद्यालय, नगरपालिका तथा स्थानीय सहकारी संस्थाहरूको अवलोकन भ्रमण गरी तिनीहरूको कार्यप्रणाली र व्यवस्थापनको अध्ययन गर्ने कार्यक्रम रहेको छ।
भ्रमणले नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले बताउनुभयो। उहाँले यस कार्यक्रमले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रियस्तरको व्यावहारिक अनुभव र सिकाई प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।भ्रमणका क्रममा विद्यार्थीहरूले जापानी समुदायमा नेपाली कला, संस्कृति र परम्परागत नृत्यहरू समेत प्रस्तुत गरेर नेपालको पहिचान प्रवर्द्धन गर्ने विद्यालयले जनाएको छ।
जापान भ्रमणका क्रममा सिकेका सकारात्मक र उपयोगी अनुभवहरूलाई आफ्नो व्यक्तिगत जीवनमा लागू गर्ने र स्वदेश फर्किएपछि आफ्ना अन्य साथीभाइहरू माझ पनि बाँड्ने विद्यार्थी तुलज प्रजापतिले प्रतिवद्धता जनाए।
यो अन्तर्राष्ट्रिय शैक्षिक आदान(प्रदान कार्यक्रमले विद्यार्थीहरूको व्यक्तित्व विकासका साथै विद्यालयको समग्र शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका खेल्ने विद्यालयले जनाएको छ ।
प्रकाशित मिति: २४ आश्विन २०८३, शनिबार









