भक्तपुर । विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानका साथै व्यवहारिक र जीवनोपयोगी शिक्षा दिने उद्देश्यका साथ शंकर नेशनल स्कुलले धान भित्र्याउने कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय परिसरमै रहेको खेतमा आयोजित उक्त कार्यक्रममा प्ले ग्रुपदेखि कक्षा ३ सम्मका प्रि(प्राइमरी र आधारभूत तहका विद्यार्थीहरू तथा शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
उक्त धान विद्यार्थीहरूले आफैँले बिउ र ब्याड राखी गत असार १५ गते रोपेका थिए । असारमा रोपेको धान अहिले पाकेपछि विद्यार्थीहरूलाई धान काट्न र झार्न लगाई यसको समग्र प्रक्रिया र महत्त्वबारे बुझाइएको विद्यालयले जनाएको छ । धान काट्दै, धानको मुठो बनाउँदै, झार्दै र संकलन गने कार्यकमा सहभागि हुदा बालबालिकाहरू निकै रमाएका देखिन्थे ।
कार्यक्रममा शिक्षक पवित्रा शिवाकोटीले विद्यार्थीहरूलाई धान रोप्ने, काट्ने र झार्ने प्रक्रिया सिकाउँदै खेतदेखि भान्साकोठासम्म चामल, चिउरा र खाना आइपुग्ने विषयमा विद्यार्थीहरुलाई ज्ञान दिनुभएको थियो । सिकाई केवल कक्षाकोठामा मात्र सीमित नभई व्यवहारिक क्रियाकलापबाट हुँदा धेरै प्रभावकारी हुने विद्यालयका प्रिन्सिपल सरन चौँलागाईले बताउनुभयो ।
साथै विद्यालयले विगतदेखि नै यस्ता व्यवहारिक कार्यक्रमहरू आयोजना गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति: १० कार्तिक २०८३, मंगलवार









