६ मंसिर २०८३ ,आईतवार

भक्तपुरमा अनलाइन ठगी गर्ने गिरोह सक्रिय, प्रहरीद्वारा १८ मोबाइल नम्बर सार्वजनिक


भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले अनलाइन ठगी तथा मोबाइल बैंकिङमार्फत रकम चोरी गर्ने कार्यमा संलग्न रहेको आशंकामा १८ वटा मोबाइल तथा ह्वाट्सएप नम्बर सार्वजनिक गरेको छ।

परिसरको साइबर शाखाका अनुसार ठगीमा संलग्न व्यक्तिहरूले आफूलाई बैंक तथा विभिन्न संस्थाको कर्मचारी बताउँदै पीडितलाई फोन र ह्वाट्सएपमार्फत सम्पर्क गर्ने गरेका छन्। उनीहरूले केवाईसी (kYC)  अपडेट गर्ने बहानामा ओटीपी, पासवर्ड तथा स्क्रिन सेयर मागेर बैंक तथा वालेट खातामा अनधिकृत पहुँच पुर्‍याई रकम स्थानान्तरण गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ठगीमा संलग्न व्यक्तिहरूले नक्कली बैंकिङ एप तथा ई–स्पिकर प्रयोग गरी रकम प्राप्त भएको आवाजसमेत सुनाउने गरेका छन्। बैंक खातामा लिंक गरिदिने र फन्ड ट्रान्सफर गर्दा शुल्क नलाग्ने जस्ता प्रलोभन देखाएर सर्वसाधारणलाई झुक्याउने गरिएको छ।

प्रहरीले सार्वजनिक गरेका नम्बरहरूबाट आफूलाई बैंक वा वालेटको कर्मचारी भन्दै फोन, एसएमएस वा ह्वाट्सएपमार्फत सम्पर्क गरी केवाईसी अपडेट, ओटीपी, पासवर्ड वा स्क्रिन सेयर मागेमा सतर्क रहन आग्रह गरेको छ। यस्ता गतिविधिबाट आर्थिक नोक्सानी भएमा जिल्ला प्रहरी परिसर भक्तपुरमा जाहेरी दिन पनि अनुरोध गरिएको छ।

प्रहरीले सर्वसाधारणलाई आफ्नो ओटीपी, पासवर्ड तथा बैंकिङ विवरण कसैलाई नदिन र अपरिचित व्यक्तिको आग्रहमा स्क्रिन सेयर नगर्न अनुरोध गरेको छ।


प्रकाशित मिति: १० कार्तिक २०८३, मंगलवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?