भक्तपुर । नगरभित्र ब्याडमिन्टन खेलको विकास गर्ने उद्देश्यले सूर्यविनायक नगरपालिकाले जिल्ला अन्तरक्लब स्तरीय ‘सूर्यविनायक मेयर कप ब्याडमिन्टन’ प्रतियोगिता आजदेखि सुरु गरेको छ । सूर्यविनायक नगर खेलकुद विकास समितिको संयोजनमा उक्त प्रतियोगिता सञ्चालन गरिएको समितिका सदस्य दीपक थापाले जानकारी दिनुभयो ।
आज शनिबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन नगर प्रवक्ता रवीन्द्र सापकोटाले गर्नुभएको थियो ।उद्घाटन कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं ८ का वडाध्यक्ष पुष्पराज बस्नेतको पनि उपस्थिति रहेको थियो । वडा नं ८ स्थित चन्द्र वैभव ब्याडमिन्टन क्लबमा सञ्चालन भएको यस प्रतियोगितामा ४८ टिमको सहभागिता रहेको छ ।
खेलको विकास, नयाँ प्रतिभाको खोजी तथा अन्तरक्लब स्तरमा खेलकुद गतिविधि बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रकाशित मिति: २१ कार्तिक २०८३, शनिबार









