भक्तपुर । बागमती प्रदेश सरकारले प्रदेश निजामती कर्मचारीहरूको सरुवा तथा पदस्थापनलाई व्यवस्थित, पारदर्शी र अनुमानयोग्य बनाउन नयाँ मापदण्ड जारी गरेको छ । कर्मचारी सरुवा प्रक्रियामा निष्पक्षता कायम गर्ने, मनपरी सरुवा नियन्त्रण गर्ने तथा सुगम र दुर्गम क्षेत्रबीच सन्तुलन मिलाउने उद्देश्यले प्रदेश सरकारले नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको हो ।
प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा १३६ ले दिएको अधिकार प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘प्रदेश कर्मचारीहरूको सरुवा तथा पदस्थापन सम्बन्धी मापदण्ड’ स्वीकृत गरेको हो । गत कात्तिक १२ गते स्वीकृत भएको उक्त मापदण्ड प्रदेश निजामती ऐन जारी भएपछि पहिलोपटक तयार गरिएको हो ।
यसअघि प्रदेश निजामती ऐन जारी हुनुअघि २०७६ सालको कर्मचारी सरुवा मापदण्डका आधारमा सरुवा प्रक्रिया सञ्चालन हुँदै आएको थियो । तर, २०७९ मा प्रदेश निजामती सेवा ऐन जारी भएपछि पुरानो मापदण्ड निष्क्रिय बनेको थियो ।
एउटै कार्यालयमा तीन वर्ष बसे अनिवार्य सरुवा
नयाँ मापदण्डअनुसार कुनै कर्मचारी एउटै कार्यालयमा लगातार तीन वर्ष वा सोभन्दा बढी समय कार्यरत रहेको अवस्थामा अनिवार्य रूपमा अर्को कार्यालयमा सरुवा वा पदस्थापन गर्नुपर्नेछ । त्यस्तै, लगातार दुई वर्ष वा सोभन्दा बढी समय कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका कर्मचारीलाई अन्यत्र सरुवा गर्न प्राथमिकता दिइनेछ ।
पछिल्लो पाँच वर्षको अवधिमा एउटै कार्यालयमा तीन वर्ष सेवा गरिसकेका कर्मचारीलाई समेत प्राथमिकताका आधारमा अन्यत्र सरुवा गरिने व्यवस्था गरिएको छ ।
कर्मचारीलाई समान प्रकृतिको कार्यजिम्मेवारी भएको कार्यालयमा लगातार दोहोर्याएर पदस्थापन वा सरुवा नगर्ने तथा सुगम र दुर्गम क्षेत्रका कार्यालयबीच सन्तुलन कायम हुने गरी चक्रीय सरुवा प्रणाली लागू गर्ने मापदण्डमा उल्लेख छ ।
यद्यपि, अनिवार्य अवकाश हुन एक वर्ष वा सोभन्दा कम अवधि बाँकी रहेका कर्मचारीले स्वेच्छाले सरुवा माग नगरेसम्म साविककै कार्यालयमा निरन्तरता दिनुपर्ने व्यवस्था गरिएको छ । शारीरिक वा मानसिक स्वास्थ्य समस्या भएका तथा गम्भीर दीर्घरोगबाट पीडित कर्मचारीलाई सम्भव भएसम्म पायक पर्ने वा सुगम स्थानमा सरुवा तथा पदस्थापन गर्ने व्यवस्था पनि मापदण्डमा समेटिएको छ ।
त्यस्तै, ऐन तथा नियमावलीमा निर्धारित नियमित समयतालिका वा अवधिभन्दा अगाडि वा पछाडि कर्मचारीको सरुवा गर्नुपरेमा स्पष्ट कारण र औचित्य खुलाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पूर्वसहमति लिनुपर्नेछ । यस्तो सहमति नलिई सम्बन्धित मन्त्रालय वा निकायले कर्मचारीको सरुवा तथा पदस्थापन गर्न पाउने छैनन् ।
रमाना नदिने कार्यालय प्रमुखमाथि विभागीय कारबाही
मापदण्डले सरुवा भएका कर्मचारीलाई समयमै नयाँ कार्यस्थलमा पठाउने व्यवस्थालाई पनि कडाइ गरेको छ । सरुवा वा पदस्थापन भएका कर्मचारीले तोकिएको समयभित्र बरबुझारथ गरी नयाँ कार्यालयमा हाजिर हुनुपर्नेछ ।
कार्यालय प्रमुखले पनि सरुवा भएका कर्मचारीलाई निर्धारित समयभित्र अनिवार्य रूपमा रमाना दिनुपर्नेछ । तोकिएको समयमा रमाना नदिई कर्मचारीलाई रोक्ने कार्यालय प्रमुख तथा सरुवा भएको कार्यालयमा समयमै हाजिर हुन नजाने कर्मचारीमाथि ऐन तथा नियमावलीअनुसार विभागीय कारबाही गरिने व्यवस्था गरिएको छ ।
त्यस्तै, रमाना पत्र बुझेर पनि खटाइएको कार्यालयमा हाजिर नभई अनुपस्थित रहने कर्मचारीमाथि समेत विभागीय कारबाही अघि बढाइने मापदण्डमा उल्लेख छ ।
सरुवा प्रक्रिया विद्युतीय प्रणालीमार्फत
नयाँ मापदण्डले कर्मचारी सरुवा तथा पदस्थापनसम्बन्धी अभिलेख र सूचना व्यवस्थापनलाई पनि विद्युतीय प्रणालीमा आधारित बनाएको छ ।
सरुवा, पदस्थापन, रमाना तथा हाजिरसम्बन्धी पत्राचार र सूचना आदानप्रदानका लागि प्रदेश निजामती सूचना प्रणाली वा विद्युतीय प्रणाली अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।
प्रदेश किताबखाना तथा सम्बन्धित निकायले कर्मचारीको भौतिक र डिजिटल दुवै अभिलेख अद्यावधिक राख्नुपर्नेछ । साथै, सरुवासम्बन्धी जानकारी सम्बन्धित कर्मचारीलाई इमेल, फोन वा विद्युतीय प्रणालीमार्फत तत्काल उपलब्ध गराउनुपर्ने व्यवस्था मापदण्डमा समावेश गरिएको छ ।
नयाँ मापदण्डले कर्मचारी सरुवा प्रक्रियालाई व्यवस्थित बनाउनुका साथै प्रशासनिक सुशासन, जवाफदेहिता र सेवा प्रवाहमा प्रभावकारिता ल्याउने प्रदेश सरकारको अपेक्षा छ ।
प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार









