काठमाडौं । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ। कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स १९ रनले पराजित भएको हो। जनकपुर १९.३ ओभरमा ११३ रनमै अलआउट भयो।
जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए। कप्तान हर्मीत सिंह र मोइन अलीले समान १९ रन जोड्दा जिमी निशमले १५ र मायन यादवले १४ रन बनाए। अनिलकुमार शाहले ११, कुशल परेवा ६ र तृतराज दासले एक रन बनाए। ललित राजवंशी एक रनमा आउट भए भने राहुल यादव एक रनमा अविजित रहे। आदित्य मेहता भने खाता नखोली आउट भए।
कर्णालीका युनिस ठकुरी र हुसेन तलतले समान तीन विकेट लिए। युनिसले चार ओभरमा एक मेडनसहित तीन विकेट लिएका थिए। उनले एउटै ओभरमा जनकपुरका कप्तान हर्मीत सिंह र जिमी निशमलाई आउट गर्दै खेलमा कर्णालीको पकड बलियो बनाए। नन्दन यादवले दुई तथा कप्तान सोमपाल कामीले एक विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३२ रन बनाएको थियो। कर्णालीका ओपनर अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए। उनले २९ बलमा चार चौका प्रहार गरे।
कर्णालीले पहिलो ओभरको अन्तिम बलमै मार्क वाटको विकेट गुमाएको थियो। उनी एक रन बनाएर आउट भए। चार रनमा पहिलो विकेट गुमाएको कर्णालीले १८ रन पुग्दा दोस्रो विकेट गुमायो।
जनकपुरबाट डेब्यु गरेका राहुल यादवले पहिलो बलमै दीपक डुम्रेलाई आउट गरे। डुम्रेले १३ रन बनाए। कर्णालीले ३७ रन जोड्दा हुसेन तलत तीन रनमा आउट भए।
त्यसपछि पवन सर्राफ र अरिफुल इस्लामले चौथो विकेटका लागि ४२ रनको साझेदारी गर्दै कर्णालीको इनिङ्स सम्हाल्ने प्रयास गरे। अरिफुल ४३ रनमा र पवन ३७ बलमा ३७ रन बनाएर आउट भए।
त्यसपछि अक्बर अली एक, कप्तान सोमपाल कामी एक र गुल्सन झा १२ रनमा आउट भए। नन्दन यादवले नौ रन बनाए। युवराज खत्री र युनिस ठकुरी अविजित रहे।
जनकपुरका कप्तान हर्मीत सिंहले तीन विकेट लिए। मोइन अली र राहुल यादवले समान दुई तथा ललित राजवंशीले एक विकेट लिए।
एनपीएलअन्तर्गत मंगलबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच साँझ ५ बजे खेल हुने तालिका रहेको छ।
प्रकाशित मिति: १० कार्तिक २०८३, मंगलवार









