काठमाडौं । इरानसँग जोडिएका सीमा नाका बन्द भएपछि पाकिस्तानमा खाना पकाउने ग्यास (एलपीजी) को अभाव चुलिएको छ। ग्यास तथा अन्य खाद्य सामग्री बोकेका सयौँ ट्यांकर सीमा क्षेत्रमा रोकिएका छन्। यसको असर बजारमा पर्न थालेपछि ग्यासको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।
सुरक्षा चुनौती देखाउँदै इरानसँगका दुई प्रमुख सीमा नाका बन्द गरिएपछि पाकिस्तानमा ग्यासको आपूर्ति प्रभावित भएको हो। रोयटर्सका अनुसार, उपभोक्तालाई उद्धृत गर्दै खाना पकाउने ग्यासको मूल्य प्रतिकिलो ५०० पाकिस्तानी रुपैयाँसम्म पुगेको उल्लेख गरिएको छ।
इरानसँग सीमा जोडिएका गब्द–रिब्दान र ताफ्तान नाका गत अक्टोबर १७ देखि बन्द छन्। पाकिस्तानले यी दुई नाकामार्फत दैनिक करिब ७ हजार मेट्रिक टन ग्यास आयात गर्दै आएको थियो। नाका बन्द भएपछि आपूर्ति अवरुद्ध हुँदा बजारमा ग्यासको अभाव देखिएको हो।
पाकिस्तानको सरकारी निकाय आयल एन्ड ग्यास रेगुलेटरी अथोरिटीले ग्यासको मूल्य प्रतिकिलो २७९ पाकिस्तानी रुपैयाँ निर्धारण गरेको छ। तर, कालोबजारीका कारण बजारमा प्रतिकिलो ६०० रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ।
मूल्यवृद्धिसँगै ११ दशमलव ६७ किलोको एउटा ग्यास सिलिन्डरको मूल्य ४ हजार ५०० पाकिस्तानी रुपैयाँबाट बढेर ७ हजार रुपैयाँ पुगेको छ। यो रकम नेपाली रुपैयाँमा करिब ३ हजार ८५० रुपैयाँ हुन्छ। पाकिस्तानका केही क्षेत्रमा भने एउटा सिलिन्डरको मूल्य ८ हजार पाकिस्तानी रुपैयाँसम्म पुगेको छ।
पाकिस्तानको फेडरल ब्युरो अफ स्ट्याटिस्टिक्सका अनुसार, अघिल्लो हप्ताको तुलनामा ग्यासको मूल्य २२ दशमलव ५ प्रतिशतले बढेको छ। त्यस्तै, गत वर्षको तुलनामा ग्यासको मूल्यवृद्धि १०७ प्रतिशतभन्दा बढी पुगेको छ।
सीमा नाका बन्द हुँदा ग्यास आपूर्ति प्रभावित हुनुका साथै कालोबजारी बढेपछि सर्वसाधारण उपभोक्ता थप मारमा परेका छन्।
प्रकाशित मिति: ८ कार्तिक २०८३, आईतवार









