भक्तपुर । भक्तपुरका एक उपभोक्ताले ३०० रुपैयाँको सामान खरिद गरेकै भरमा १० लाख रुपैयाँ पुरस्कार जितेका छन् । सूर्यविनायक नगरपालिका निवासी राम श्रेष्ठले सरकारको करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत उक्त पुरस्कार प्राप्त गरेका हुन् ।
श्रेष्ठले श्री च्युरा तथा राइस मिलबाट ३०० रुपैयाँको सामान खरिद गरेका थिए । सरकारले गत कात्तिक १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार योजनामा उनी विजेता बनेका हुन् ।
राष्ट्रिय कर दिवसको अवसर पारेर नयाँ विजेताको नाम सार्वजनिक गरिएको हो । विजेताको घोषणा गभर्नर विश्वनाथ पौडेलले गरेका थिए ।
सोही अवसरमा यसअघिका विजेता सन्चमाया तामाङ र गौरीशंकर पण्डितलाई समेत सम्मान गरिएको थियो ।
प्रकाशित मिति: १ मंसिर २०८३, मंगलवार









